
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसहितको उच्चस्तरीय टोलीले आइतबार बाँके जिल्लाको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जिल्लाको समग्र सुरक्षा तयारी र व्यवस्थापनप्रति सन्तोष व्यक्त गर्दै गृहमन्त्री अर्यालले स्वच्छ निर्वाचनमार्फत राजनीतिक सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
उनले जिल्लाको परिवेशअनुसार सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन र कानुन उल्लंघन गर्ने जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारीबाट प्रस्तुत एकीकृत निर्वाचन सुरक्षा योजना, सुरक्षाकर्मी परिचालन र मतपेटिका ढुवानीलगायतका विषयमा जानकारी लिएपश्चात् गृहसचिवज्यूले सम्पूर्ण सुरक्षा निकायलाई उच्च समन्वय र समूह भावनाका साथ परिचालन भई निर्वाचन सफल बनाउन निर्देशन दिएका थिए ।
कार्यक्रमपश्चात् सञ्चारकर्मीहरूसँगको संक्षिप्त भेटघाटमा गृहमन्त्री अर्यालले राष्ट्रिय रूपमै निर्वाचनको माहौल अत्यन्त उत्साहजनक रहेको बताउँदै बाँके जिल्लाको मजबुत पूर्व तयारीले त्यसलाई थप पुष्टि गरेको स्पष्ट पारे ।




Facebook Comments