काठमाडौं । नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी कांग्रेसमा  कांग्रेस (बीपी) समाहित भएको घोषणा गरिएको हो ।

कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।

ad

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।

कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

कांग्रेस (बीपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।