काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता आयतोल्लाह खामेनीको निधन भएको पुष्टि गरेको हो । इरानी सरकारी सञ्चारमाध्यमहरूले सो समाचारको पुष्टि गरे पनि ८६ वर्षीय खामेनीको मृत्युको कारणबारे भने विज्ञप्तिमा केही खुलाइएको छैन ।

ad

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीका क्रममा खामेनी मारिएको दाबी गरेका थिए । ट्रम्पका अनुसार इरानका विभिन्न स्थानमा गरिएका श्रृङ्खलाबद्ध आक्रमणका क्रममा सर्वोच्च नेताको मृत्यु भएको हो ।

हालसम्म इरानी अधिकारीहरूले खामेनीको उत्तराधिकारी को हुनेछ भन्नेबारे कुनै जानकारी दिएका छैनन् । इरानको सत्ता संरचनामा सर्वोच्च नेताको भूमिका निर्णायक हुने भएकाले, नयाँ नेतृत्वको चयन नहुँदासम्म त्यहाँको राजनीतिक भविष्यलाई लिएर विश्वभर चासो र चिन्ता बढेको छ ।