देश यतिबेला चुनावी माहोलले तातेको छ। दलका शीर्ष नेतादेखि कार्यकर्तासम्म आमसभा, कोणसभा र घरदैलो अभियानमा व्यस्त छन्। यहीक्रममा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी ले चितवनमा बृहत् आमसभा आयोजना गर्‍यो।

सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछाने ले सहकारी बचत रकम अपचलन प्रकरणलाई पुनः उठाउँदै राजनीतिक प्रतिस्पर्धीमाथि तीखा टिप्पणी गरे।

ad

लामिछानेले आफूमाथि सहकारी ठगीसम्बन्धी आरोप लगाइएको ६५८ दिन बितिसक्दा पनि प्रमाण सार्वजनिक नभएको दाबी गर्दै गगन थापा प्रति कटाक्ष गरे। 'ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ। अब प्रमाण चाहिँदैन, जनताले नै फैसला गर्नेछन्,' उनले भने।

उनले आफ्नो ‘अन्तिम इच्छा’ फागुन २१ गतेको मतपत्रमार्फत देखाइदिन मतदातालाई आग्रह गर्दै चुनावी नतिजालाई नै आफूविरुद्धको आरोपको जवाफका रूपमा प्रस्तुत गरे।

चितवनमा लामिछानेले भाषण गरिरहँदा पोखरामा भने सहकारी पीडितहरूले कांग्रेस नेतासमक्ष आफ्ना गुनासा राखे। नेपाली कांग्रेस ले आयोजना गरेको आमसभाका क्रममा सहकारी पीडितहरूले थापालाई भेटेर बचत रकम फिर्ताका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएका हुन्।

सूर्यदर्शन सहकारी का पीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठका अनुसार आफूहरूलाई कुनै दल विशेषप्रति आग्रह वा पूर्वाग्रह नभई बचत फिर्ता नै मुख्य चासो भएको बताए।

'हामीलाई कसले गर्‍यो, कसले गरेन भन्नेभन्दा पनि जसले रकम खाएको हो, उसले फिर्ता गरोस् भन्ने पीर छ,' श्रेष्ठले भने। उनका अनुसार सहकारी रकम हिनामिना आरोपमा केही व्यक्ति कारागारमा छन् भने केही सार्वजनिक जीवनमै सक्रिय देखिन्छन्।

लामिछानेविरुद्ध दायर मुद्दामा कास्की जिल्ला अदालत ले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको आरोपसहित सोही रकम बराबर बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

ज्ञापनपत्र बुझ्दै थापाले सहकारी पीडितको पक्षमा आफूहरू सधैं उभिने प्रतिबद्धता जनाएका थिए। चुनावी सरगर्मी चर्किँदै जाँदा सहकारी प्रकरण पनि मुख्य राजनीतिक मुद्दाका रूपमा उभिन थालेको देखिन्छ।