काठमाडौं । २१ फागुन नजिकिँदै जाँदा झापा–५ को चुनावी माहोल असाध्यै तातेको छ। केपी शर्मा ओली आफ्नो राजनीतिक विरासत जोगाउने दाउमा छन् भने बालेन्द्र शाह (बालेन) कुनै पनि हालतमा ओलीलाई रोक्ने रणनीतिमा देखिन्छन्। 

तर यसपटकको प्रतिस्पर्धा एमाले र रास्वपाबीचको मात्र नभई कांग्रेस र राप्रपाको मत ‘कता ढल्किन्छ ?’ भन्ने प्रश्नले निर्धारण गर्ने संकेत देखिएको छ।

ad

झापा–५ एमालेको बलियो संगठन भएको क्षेत्र मानिन्छ। टोलटोलसम्म संरचना, संगठित सदस्य र विगतको मतपरिणामले एमालेको पकड स्पष्ट देखाउँछ। २०७४ मा ओलीले ५७ हजार १३९ मत ल्याएर देशमै सर्वाधिक मतसहित जित हात पारेका थिए। २०७९ मा पनि ५२ हजार ३१९ मतसहित विजय दोहोर्‍याए।

तर २०७९ को समानुपातिक परिणामले नयाँ संकेत दिएको थियो—राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो ठूलो शक्ति बनेको थियो। प्रत्यक्षतर्फ त्यति बलियो संरचना नबने पनि ‘एन्टी–एस्टाब्लिसमेन्ट’ लहरले परम्परागत मत संरचना भत्किने संकेत दिएको थियो। यही मनोविज्ञानलाई आधार मानेर बालेन मैदानमा उत्रिएको विश्लेषण गरिन्छ।

झापा–५ मा यसपटक सबै दल एक्लाएक्लै चुनाव लडिरहेका छन्। तालमेल नहुँदा अंकगणित झन् जटिल बनेको छ। स्थानीय विश्लेषकहरूका अनुसार सबैभन्दा धेरै ‘स्विङ’ मत नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बाहिरिन सक्ने अनुमान गरिएको छ।

एमालेका क्षेत्रीय नेताहरू कांग्रेस र राप्रपाभित्र असन्तुष्टि रहेको दाबी गर्छन्। उनीहरूको बुझाइमा, परम्परागत मतदाता नयाँ अनुहारतर्फ आकर्षित हुन सक्छन्। उता कांग्रेस नेताहरू भने २०७९ मा एमालेकै मत रास्वपातर्फ गएको तर्क गर्दै यसपटक आफ्नो मत ‘पूर्ण सुरक्षित’ रहने दाबी गरिरहेका छन्।

राप्रपाभित्र फैलिएका विभिन्न ‘हल्ला’ र सामाजिक सञ्जालमा आएका दाबीहरूले समेत देखाउँछ—यसपटक उनीहरूको मत निर्णायक बन्न सक्छ। राप्रपाले औपचारिक रूपमा कुनै भित्री सहमति नभएको खण्डन गरिसकेको छ, तर दुवै हेभिवेट उम्मेदवारले राप्रपाको राष्ट्रवादी मतलाई आकर्षित गर्ने मौन प्रयास गरिरहेको चर्चा छ।

झापा–५ मा श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी जस्ता नयाँ दलको उपस्थिति पनि छ। यी दलहरूले ठूला दलको ‘कोर’ मत नतान्लान्, तर असन्तुष्ट मतदाता तान्न सक्ने सम्भावना नकार्न सकिँदैन।

त्यसमाथि १५ दल र नौ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। यस्तो बहुकोणीय प्रतिस्पर्धामा २–३ हजार मतको हेरफेरले नतिजा उल्टिन सक्छ।

ओलीका लागि चुनौती दुई तहमा छ—पहिलो, विगतको मत घट्न नदिनु, दोस्रो, कांग्रेस–राप्रपाबाट आउने सम्भावित ‘स्विङ’ मतलाई रोक्नु।

झापा–५ को चुनाव अब एमाले बनाम रास्वपा मात्र होइन, कांग्रेस र राप्रपाको मत कता मोडिन्छ भन्ने रणनीतिक खेल बनेको छ।

ओली आफ्नो आधार जोगाउन संघर्षरत छन्। बालेन परम्परागत संरचना भत्काउने दाउमा छन्।

२१ फागुनले केवल एक सांसद मात्र होइन, पुराना र नयाँ शक्तिबीचको वास्तविक शक्ति–सन्तुलन पनि छिनोफानो गर्नेछ।