काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । 

यस ऐतिहासिक अवसरमा बैंक परिवारले ग्राहकवर्ग, सेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुमा निरन्तर विश्वास र सहयोगका निम्ति आभार व्यक्त गरेको छ ।  

ad

यस ४०औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहकलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए ।

 ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने पनि जानकारी दिए ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ८ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ । यस ४०औँ वार्षिकोत्सवमा पनि बैकले आफ्नो आठौं संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ ।

बैंकले यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयहरुलाई समेटि सरल, रमाइलो र ज्ञानबद्र्धक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ । 

वातावरणमा भइरहेको तीव्र परिवर्तनले हाम्रो स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको भन्दै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरेको जनाएको छ ।  

यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको सहभागिता थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।