काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने) भने सञ्चालन हुनेछन् । कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि चल्नेछन् । 

ad

अन्य सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मतदानको मितिभन्दा सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्रीवितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । बैठकबाट निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँकतै भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन पनि गृहमन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।