राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुनै भिन्नता नरहेको बताएका छन् ।

बुधबार पोखरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थामै समस्या रहेको दाबी गरे । वर्तमान व्यवस्था कायम राखेर देशको विकास सम्भव नभएकाले विकल्पको खोजीमा राप्रपा अघि बढेको उनले बताए ।

ad

देशमा सुशासन अभाव र राजनीतिक नेतृत्व भ्रष्टाचारमा फसेको भन्दै उनले समस्या केवल दल वा नेतामा मात्र नभई व्यवस्थामै रहेको जिकिर गरे । परिवर्तनका लागि राप्रपालाई मत दिन उनले आग्रह गरे ।

उनका अनुसार गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता माओवादीले प्रस्ताव गरेको व्यवस्था हो र नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा रास्वपाले समेत त्यही धार स्वीकार गरेका छन् । यी सबै दलको विकल्प राप्रपा मात्र रहेको उनको दाबी थियो ।

देशको समस्या समाधानका लागि सबै पक्षबीच नयाँ समझदारी आवश्यक रहेको उल्लेख गर्दै उनले फागुन २१ गते हुने निर्वाचनमा सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।