
काठमाडौं । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा–४ मा ५ हजार ५४२ मत ल्याएका इच्छाबहादुर वाग्लेले यसपटक नेपाली कांग्रेस उम्मेदवार श्यामबाबु गुप्तालाई समर्थन गरेका छन् । होटल व्यवसायी तथा जग्गा कारोबारी वाग्लेले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
२०७९ मा बारा–४ मा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र, नेकपा एस सहितको पाँचदलीय गठबन्धनबाट किसान श्रेष्ठ विजयी भएका थिए भने एमाले उम्मेदवार एकवाल मियाँपछि तेस्रो स्थानमा वाग्ले थिए । यसपटक फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार निश्चित भइसके पनि वाग्लेलेको टिकट नपाएको चर्चा थियो ।
रास्वपा बारा जिल्ला सभापति चन्दन सरार्फले वाग्लेको टिकट अन्तिम समयमा खोसिएको बताए । सिमरा आसपासका रास्वपाका नेताहरूले वाग्लेलाई उम्मेदवार बनाए चुनावमा सहयोग नगर्ने धम्की दिएपछि अन्तिम समयमा वाग्लेको टिकट खोसेर रहबर अन्सारीलाई दिइएको उनले दाबी गरे ।
वाग्लले आफू ४० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएकाले गुप्तालाई सहयोग गरेको बताएका छन् । ‘यसपटक पनि कांग्रेस र एमाले गठबन्धन हुँदै थियो, पुरानो उम्मेदवार किसान श्रेष्ठ फर्केर आउने देखेर उसको विरुद्ध मैले उम्मेदवारी दिन खोजेको हो,’ वाग्लेले भने, ‘तर म कतै टिकट नपाएर नगएको केही पनि होइन ।’
जीतपुर सिमरा–७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लले कांग्रेस नयाँ मोड र नयाँ ढंगबाट बढेको बताएका छन् । त्यस कार्यक्रममा कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ताले लामो समयपछि जनताले रुख चिह्नमा मतदान गर्ने अवसर पाएकाले यो अवसरको सदुपयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।
उनले कांग्रेस बदलिएर जनतामाझ आएकाले बारा–४ का जनताले कांग्रेसलाई जिताएर सेवा गर्ने अवसर दिन आग्रह गरे ।
यसअघिको निर्वाचनमा बारा–४ का कांग्रेस नेता कार्यकर्ताले कलम चिह्नमा मतदान गरेका थिए । बुधबार जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा करिब १५० जना युवा कांग्रेस प्रवेश गरेका आयोजकले दाबी गरेको छ ।










Facebook Comments