
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरेबियाको प्रतिष्ठित डिजिटल वालेट ‘टिक्मो’बीच डिजिटल कारोबार विस्तारका लागि एक महत्वपूर्ण सम्झौता भएको छ ।
यही माघ २७ गते साउदी अरेबियाको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच साझेदारीको औपचारिक सम्झौता भएको हो । सम्झौता पत्रमा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरे ।
उक्त हस्ताक्षर समारोहमा साउदी अरबका लागि नेपालकी कार्यवाहक राजदूत सिर्जना अधिकारी, आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल लगायत दुवै कम्पनीका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो सम्झौतालाई केवल व्यावसायिक साझेदारीको रूपमा मात्र नभई दुई राष्ट्रबीचको साझा डिजिटल भविष्यको आधारशिलाको रूपमा हेरिएको छ। साउदी अरेबियाले आफ्नो ‘भिजन २०३०’ मार्फत ‘नगदरहित’ समाजको लक्ष्य राखेको छ भने नेपालले पनि डिजिटल वित्तीय पहुँचलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । यस परिप्रेक्ष्यमा, रेमिट्यान्स क्षेत्रको विश्वसनीय ब्रान्ड आइएमई र आधुनिक प्रविधिमा आधारित डिजिटल इकोसिस्टम टिक्मोबीचको यो सहकार्यले साउदीको मरुभूमि र नेपालको पहाडबीचको दूरीलाई थप कम गर्ने विश्वास लिइएको छ ।
दशकौंदेखि नेपाल र साउदी अरेबियाको सम्बन्धलाई शारीरिक श्रम र परम्परागत रेमिट्यान्सका माध्यमले मात्र चिनिँदै आएकोमा अब यो साझेदारीले एक ‘डिजिटल वित्तीय कोरिडोर’ निर्माण गरेको छ । यसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज वित्तीय आबद्धतालाई प्रवर्द्धन गर्ने दुवै पक्षको दाबी छ ।
सम्झौता सँगै आइएमईले साउदीमा रहेका नेपालीहरूका लागि ‘टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ’ नामक प्रवद्र्धनात्मक योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो (Tiqmo) एप प्रयोग गरी आइएमई मार्फत नेपालमा पैसा पठाउँदा विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।










Facebook Comments