काठमाडौं। टेलिभिजन रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्समा महेश बस्नेत अतिथिका रूपमा देखिएपछि कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। नेकपा (एमाले)का सचिव बस्नेत सहभागी रहेको नयाँ एपिसोडको ट्रेलर सार्वजनिक भएसँगै कार्यक्रममाथि आलोचना र समर्थन दुवै बढेको हो।

कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले मंगलबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै अतिथिको विषयलाई लिएर भइरहेको गालीगलौज र धम्कीप्रति आपत्ति जनाएका छन्। उनले कार्यक्रम सधैं निष्पक्ष रूपमा सञ्चालन हुँदै आएको दाबी गर्दै अवरोध र धम्की नरोके कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

ad

सामाजिक सञ्जालमा विभाजित प्रतिक्रिया

ट्रेलर सार्वजनिक भएपछि फेसबुक र युट्युबमा दर्शक प्रतिक्रिया ध्रुवीकृत देखिएका छन्। केही प्रयोगकर्ताले विवादास्पद राजनीतिक व्यक्तित्वलाई मञ्च दिएको भन्दै कार्यक्रम बहिष्कारको आह्वान गरेका छन्। अर्कोतर्फ, केहीले हास्य–व्यंग्य कार्यक्रमले सबै राजनीतिक दल र पात्रमाथि समान रूपमा प्रस्तुति दिन पाउनुपर्ने तर्क गरेका छन्।

भण्डारीले यसअघि पनि विभिन्न दलका नेताहरूलाई कार्यक्रममा आमन्त्रित गरिएको स्मरण गराएका छन्। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तीन पटक, राप्रपाका एक पटक, नेपाली कांग्रेसका एक पटक तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का एक पटक अतिथि भइसकेका छन्। 'हामीले विचारलाई अलग राखेर कार्यक्रमलाई प्रजातान्त्रिक स्वरूपमा अघि बढाएका छौं,' उनले उल्लेख गरेका छन्।

क्यारिकेचरलाई लिएर पनि दबाब

बस्नेत सहभागी एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङको क्यारिकेचर कलाकार प्रभात लामाले प्रस्तुत गरेका छन्। उक्त प्रस्तुतीलाई लिएर समेत कलाकारमाथि धम्की आएको निर्देशक भण्डारीले बताएका छन्।

उनले सामाजिक सञ्जालमा आएको अपमानजनक टिप्पणी र ‘धाक–धम्की’ को क्रम नरोकिए कानुनी बाटो रोज्ने स्पष्ट पारेका छन्। साथै, सबै दलका नेता तथा कार्यकर्तालाई कार्यक्रम सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका छन्।

‘निष्पक्षता जोगाउन खोज्दै छौं’

भण्डारीले आफ्नो प्रतिक्रियामा कुनै एक दल विशेषका व्यक्तिलाई मात्र बोलाउनुपर्ने सोच लोकतान्त्रिक अभ्यासविरुद्ध हुने तर्क गरेका छन्। 'हामी परिवर्तन र खुला बहसको पक्षमा छौं। प्रश्न गर्न, बोल्न र हाँस्न पाउने समाज नै हाम्रो लक्ष्य हो,' उनले उल्लेख गरेका छन्।

कार्यक्रमले यसअघि पनि राजनीतिक तथा सामाजिक व्यक्तित्वमाथि व्यंग्य प्रस्तुत गर्दै आएको छ। तर पछिल्लो एपिसोड सार्वजनिक हुनुअघि नै देखिएको तीव्र प्रतिक्रिया र बहसले मनोरञ्जन कार्यक्रमको राजनीतिक प्रभावबारे नयाँ प्रश्न उठाएको छ।

यद्यपि, विवादका बीच आगामी एपिसोड प्रसारणपछि दर्शक प्रतिक्रिया कस्तो रहन्छ भन्ने चासो बढेको छ।

उनले भनेका छन्–

हाम्रो विचार र समर्थनलाई साइडमा राखेर निश्पक्ष रुपमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रम चलाउने क्रममा रास्वपाका नेता ३ पटक, राप्रपाका १ पटक, कांग्रेसको १ पटक, कलमका १ पटक र एमालेको १ पटक बोलाएका थियौं ।

हामीलाई हरेक पटक एउटा दलको बोलाउँदा अर्को पक्षबाट सामाजिक संजालमा आक्रमण हुँदै नै आइरहेको हो । यो कुनै नौलो कुरा हैन । तर भ्रष्टाचार, नातावाद व्यक्तिवाद र दलको सिण्डिकेटको विरोध गर्दै सडक आन्दोलन गरेका जेनजी समूहका भाइ बैनिले महेस बस्नेत बोलाएको आज आउँदै गरेको एपिसोडको ट्रेलर हेरेकै भरमा जुन सत्तो -सराप गरिरहेका छन् ।

के हामीले यस्तै समाज र सत्ता बनाउन खोजेको हो ? जहाँ कुनै दल विशेषको व्यक्ति मात्र कार्यक्रमले गेष्ट बोलाउनु पर्ने ? पुरानालाई मात्र उडाउनुपर्ने र नयाँलाई देवत्वकरणनै गरिदिनुपर्ने ? पुरानाको मात्र मिमिक्री गर्नु पर्ने ? नयाँको गर्नै नहुने ? सायद हैन ! हामीले प्रश्न गर्न बोल्न र हाँसि मजाक गर्न पाउने समाजको परिकल्पना गर्दै परिवर्तन खोजेको हो ।

म फेरि पनि भन्छु, हामी परिवर्तनकै पक्षधर हौ । तर विचारलाइ साइडमा राखेर कार्यक्रमलाइ प्रजातान्त्रिक स्वरुपमा उभाएर निश्पक्ष रुपमा संचालन गर्न रोक्ने, छेक्ने र धम्काउने क्रियाकलाप नगर्न सबै दलका नेता कार्यकर्ता लाई अनुरोध गर्न चाहन्छौ । तर, यो धाक धम्कीको क्रम नरोकिए कानुनी उपचार खोज्न हामी बाध्य हुने चेतावनी पनि दिन चाहन्छौ । धन्यवाद ।’