काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ । 

भ्रष्टाचार मुद्दामा कारागारमा रहेका पौडेलविरुद्धको गैरकानुनी आर्जन सम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार उक्त बैंकको खाता विवरण झिकाउन आदेश दिएको हो ।

ad

नेपाल राष्ट्र बैंकमार्फत सो बैंकमा रहेको रकमको विवरण नेपाल राष्ट्र बैंकमार्फत सिंगापुरको केन्द्रीय बैंकसँग सहयोग र समन्वय गरी यथाशक्य छिटो झिकाउन आदेश दिएको छ ।

२०८१ वैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । 

पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, सेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ । यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।

आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।