काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौंको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ ।

ad

विभागमा साँझ अभिलेख भएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा संखुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.६,प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौंमा २.६, भक्तपुरमा ३.४, दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ । केही ठाउँमा असिनासहितको वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पनि विभिन्न ठाउँमा वर्षा हुने देखिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले बुधबार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने बताए । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।