
काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ ।
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारबाट अर्को दल वा उम्मेदवारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो । चुनावी प्रचारप्रसारलाई निर्वाचन आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको आयोगले आज प्रकाशित गरेका विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न सञ्चार माध्यमहरूबाट समेत यस्ता विषयमा जानकारी प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा(१) को खण्ड (ङ) मा पनि यस विषयमा उल्लेख गरिएको उनले बताए।
सो दफामा ‘कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने’ व्यवस्था छ ।










Facebook Comments