काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नं ४ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार गगनकुमार थापाले पार्टीले सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको ५ दिनपछि  स्थानीय पूर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। सभापति थापाले  विभिन्न ९ ओटा अभियानलाई बुँदागत रूपमा समेट्दै प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।

थापाले प्रतिज्ञापत्रमा मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गर्दै मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

ad

उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको,  क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन्। विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् । 


स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाढी र डुबान समस्या समाधानका लागि बागमती नदी क्षेत्रमा तटबन्ध निर्माण, मनुस्मरा नहर बाँध मर्मत, अर्ली वार्निङ प्रणाली, वृक्षारोपण र पानी संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सार्दै उनले चुरे संरक्षण अभियान सञ्चालन गर्ने पनि प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् । 
सभापति थापाले नागरिकका समस्या प्रत्यक्ष सुन्न र समाधान गर्न क्षेत्रमै “जनता दलान” नामक सांसद कार्यालय स्थापना गर्ने बताएका छन्।