काठमाडौं । झापा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै खेद प्रकट गरेका छन्।

उनले लोकतान्त्रिक अभ्यासमा यस्ता व्यक्तिगत आरोप र विभाजनकारी अभिव्यक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने पनि बताए । आज बिर्तामोडमा प्रेस नोट जारी गर्दै उक्त कुरा बताएका हुन् । रास्वपा अध्यक्ष लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर घिमिरेमाथिआरोप लगाएका थिए । 

ad

घिमिरेले संसदमा प्रत्येक सदस्यलाई अभिव्यक्ति दिने अधिकार भए पनि संसदीय नियमावलीअनुसार समय निर्धारण हुने र सोही आधारमा माइक सञ्चालन वा बन्द हुने बताएका छन्।  ‘माइक काट्ने वा नकाट्ने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसद्को पूर्वनिर्धारित समय र नियमावलीअनुसार हुने व्यवस्था हो’, उनले भने । 

संसदीय अभ्यासको सामान्य जानकारी हुने व्यक्तिले समेत यस्तो विषयलाई नबुझ्ने कुरा स्वीकार्य नहुने भन्दै उनले संसद्को वेबसाइटमा गएर हेर्दा सभामुख मात्र होइन, उपसभामुख वा सभाको अध्यक्षता गरिरहेका अन्य सदस्यका पालामा पनि माइक काटिएको उदाहरण पाइने दाबी गरे।

प्रेस नोटमा भनिएको छ, ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ भन्ने प्रश्न उठाउन सकिन्छ, तर म आक्षेप र अरूलाई अपराधी देखाएर आफूलाई निर्दोष देखाउने प्रवृत्तिको पक्षमा छैन।’

उनले आफूविरुद्ध प्रतिशोधको आरोप लगाउँदै जनतालाई भावनात्मक रूपमा प्रभावित पार्ने, अफवाह र लाञ्छना फैलाउने कार्य नगर्न अपिल गरे।