काठमाडौं ।सीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी) ले तयार गरीनेपाल धितोपत्र बोर्डमा पेश गरेको डबल आइजिनसम्बन्धी निर्देशिका ६ महिनादेखि स्वीकृतिविहीन अवस्थामा थन्किएको छ। बोर्डकै निर्देशनअनुसार तयार पारिएको उक्त निर्देशिका अझै निर्णयको प्रतीक्षामा रहेपछि सरोकारवालाबीच असन्तुष्टि चुलिएको छ।

सोमबार निर्देशिकाको अवस्थाबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा नियामक निकायका प्रतिनिधि अनुपस्थित रहे। कार्यक्रममाअर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी नभएको आयोजक पक्षले जनाएको छ।

ad

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकका अनुसार निर्देशिका स्वीकृतिमा विभिन्न किसिमका दबाब र चलखेल भइरहेको छ। 'निकै मेहनतका साथ तयार गरिएको निर्देशिका स्वीकृत नहुँदा अन्योल बढेको छ। आजको कार्यक्रम नै स्थगित गराउन प्रयास भएको थियो,' उनले भनिन्। उनका अनुसार डबल आइजिन व्यवस्था कार्यान्वयनमा आए पुँजी बजारका देखिएका केही संरचनागत समस्या समाधान हुनुका साथै पारदर्शिता अभिवृद्धि हुने विश्वास गरिएको छ।

लगानीकर्ता समूहहरूले भने डबल आइजिन प्रणालीलाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै तत्काल कार्यान्वयनको माग गरेका छन्। नियामक निकाय कार्यक्रममा अनुपस्थित रहनुलाई उनीहरूले गम्भीर रूपमा लिएका छन्। 'लगानीकर्ताको हितमा काम गर्नुपर्ने निकाय नै मौन देखिनु चिन्ताजनक छ,' एक लगानीकर्ता प्रतिनिधिले बताए।

सरोकारवालाहरूका अनुसार निर्देशिका लामो समयसम्म रोकिँदा पुँजी बजार सुधारका पहल प्रभावित भएका छन्। उनीहरूले नियामक निकायलाई शीघ्र निर्णय गरी अन्योल अन्त्य गर्न आग्रह गरेका छन्।