काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने भनेर मिति तय गरिएको छ ।

एनआरएनएद्वारा जारी विज्ञप्तिअनुसार दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि फागुन २२ गते भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गरिसक्नुपर्ने छ । गैरआवासीय नेपाली संघको सचिवालयमा स्वयम उपस्थिति भएर वा इमलेमार्फत् उम्मेदवारी पेस गर्नेले प्रस्तावक र समर्थकसहित अनिवार्य उपस्थित भइ सनाखन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
फागुन २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गतेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध गर्न पाइने छ । २७ गते नै उम्मेदवारको मनोनयपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ । फागुन २७ गते नै उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

ad

२८ गते उम्मेदवारले आफ्नो मनोनय पत्र फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाश हुनेछ । फागुन २८ गते नै अनलाइन माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई उम्मेदवारको अन्तिम नामावली उपलब्ध गराइने छ । २९ गते अनलाइनको नमुना निर्वाचन हुनेछ ।

फागुन ३० गतेदेखि चैत १ गतेसम्म नेपाल बाहिर अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि अनलाइन मतदान खुला रहेछन् । भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदान प्रयोजनको लागि नेपालभित्र होटल द सोल्टीमा चैत १ गते बिहान १ बजेटबाट साँझ ६ बजेसम्म मतदान हुनेछ ।

महाधिवेशनका लागि हालसम्म जापानबाट रोविन शेरचन, वेलायतबाट डा.हेमराज शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भौतिक उपस्थितिमा निर्वाचन भएको खण्डमा अध्यक्षका दाबेदारको संख्या बढ्ने अनुमान गरिएको छ ।