काठमाडौं ।  फागुन २१ आउन दुई साता पनि बाँकी नरहेको अवस्थामा आम नागरिकमा चुनाव हुन्छ वा हुन्न भन्ने द्विविधा हट्न नसकिरहेका बेला पछिल्ला केही दिनयता केही राजनीतिक दलहरूले जे गरिरहेका छन्, त्यसले चुनाव रोकिने पो हो कि भन्ने आशंकालाई बल पुर्‍याएको मात्रै छैन, चुनावमा प्रतिस्पर्धामा उत्रेका राजनीतिक दलहरूका बीचमा शत्रुता पनि थपिरहेको छ । बहुदलीय लोकतान्त्रिक व्यवस्थामा निर्वाचनका क्रममा दलहरू र तिनका नेता तथा कार्यकर्ताका बीचमा मित्रवत् प्रतिस्पर्धात्मक सम्बन्ध देखिनुपर्नेमा एक–अर्काप्रति देखिनसहने र जाइलाग्ने प्रवृत्ति बढ्न थालेको छ । 

विशेषगरी गत बिहीबार र शुक्रबार दाङमा जुन घटना देखियो, त्यसले मुलुकको चुनावी सुरक्षामाथि प्रश्न त उठाएको छ नै, सम्बन्धित दलहरूले खोजिरहेको के हो भनेर आम मानिसले समेत प्रश्न सोध्न थालेका छन् । उम्मेदवारहरू निर्बाध रूपमा मत माग्न घरदैलोमा जान पाउनु, आफ्नो घरमा आफूलाई मन परेको पार्टीको झन्डा र उम्मेदवारको फोटो राख्न पाउनु र आफ्ना उम्मेदवारका पक्षमा जनमत निर्माणमा सक्रिय हुन पाउनु लोकतान्त्रिक विधि, प्रक्रिया र चरित्र हो । तर, पछिल्लो समयमा केपी ओलीको एमाले र रवि–बालेनको रास्वपाका कार्यकर्ताहरूमा जसरी अराजकता र असहिष्णुता देखिन थालेको छ, यसले कतै एमाले र रास्वपा चुनाव भाँड्न लागेका त होइनन् भन्ने आशंका बढ्दै गएको छ । 

ad

केही दिनअघिसम्म राजावादीहरूका कारण चुनाव हुँदैन कि भन्ने थियो, राजावादीले जुनसुकै बेला वितण्डा मच्चाउन सक्छन् भन्ने आशंका राज्य संयन्त्रलाई नै थियो । त्यसैले गत साता पूर्वराजा ज्ञानेन्द्र झापाबाट काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थलमा सरकारले निषेधाज्ञा जारी गरेर सम्भावित दुर्घटनालाई टारेको सुरक्षा निकायकै अधिकारीहरूले बताउने गरेका छन् । एक उच्च सुरक्षा अधिकृतले देशान्तरलाई बताएअनुसार, ज्ञानेन्द्र शाह काठमाडौं फर्किंदा विमानस्थलमा अप्रिय अवस्था सिर्जना गर्ने तयारीमा स्वयम् राजावादीहरू नै थिए । विमानस्थलमा हुन सक्ने भनिएको घटना त टर्‍यो, तर चुनावमा होमिएका र चुनावबाट ठूलो पार्टी बनेर आगामी सरकारको नेतृत्व सम्हाल्ने दाबी गरिरहेका दुई पार्टी रास्वपा र एमालेका नेता–कार्यकर्ता जुन इगो लिएर सडकमा उत्रिन थालेका छन्, यसले अर्को खतराको संकेत गरिरहेको जानकारहरूले बताउन थालेका छन् । 

दाङमा एमालेको झन्डा जलाउनेलाई प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रियामा सामेल गरे पनि कुन नियत र उद्देश्यले झन्डा जलाइएको थियो भन्ने खुलेको छैन । त्यसको बदलामा एमालेका कार्यकर्ताले रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड गरिदिएका छन् । एमालेका नेता–कार्यकर्ताको रिस अझै मरेको छैन, त्यसैले कतिबेला के हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन। त्यो घटना त्यतिबेला भएको थियो, जतिबेला रास्वपा सभापति रवि लामिछाने स्वयम् चुनावी प्रचारका क्रममा दाङ भ्रमणमा थिए । दाङको घटनालाई लिएर एमालेले देशव्यापी रूपमा प्रतिरोधमा उत्रिने तयारी गरेको छ भने रास्वपा पनि जस्तो प्रहार आउँछ, त्यसैगरी जवाफ दिने योजनामा छ । यदि यो घटना बढ्दै गयो र दुई पार्टीबीचमा बढ्दै गएको द्वन्द्व फैलिँदै गयो भने त्यो अवस्थामा सुरक्षा अवस्था सम्हाल्न सरकारलाई निकै गाह्रो पर्नेछ। 

दाङमा रास्वपा र एमालेको ठोकाठोक सेलाउन नपाउँदै शुक्रबार रौतहटमा दुई समूहका बीचमा झडप भयो र कफ्र्यु नै लगाउनुपर्ने अवस्था आयो । उता, सुनसरीमा रास्वपाका कार्यकर्ताहरू कांग्रेसको जुलुसमाथि नै जाइलागे । एकातिर, मिलेर बसेको समाजलाई भड्काउने खेल चलिरहने र अर्कातिर, दुई विपरीत ध्रुवमा देखिएका दलहरूका बीचमा टकराव बढ्दै जाने हो भने त्यसको समग्र असर निर्वाचनमा पर्न सक्छ ।