काठमाडौं । गृह मन्त्रालयले धार्मिक सहिष्णुता र सम्मान कायम राख्न अपिल गरेको छ । तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गृहले धार्मिक सहिष्णुता र सम्मान कायम राख्न अपिल गरेको हो ।

मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी)ले जारी गरेको विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न–नगराउन तथा सबै धर्म र समुदायबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न सादर अनुरोध गरिएको छ ।

ad

रौतहट, दाङलगायत क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने गतिविधि, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड, राजनीतिक दलका झण्डा जलाउने जस्ता कानूनविपरीत कार्य भएका छन् ।

यस्ता गतिविधिले सामाजिक मर्यादा र आपसी विश्वासमा आँच पुर्‍याउने घटनाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, घृणा वा द्वेष उत्पन्न गर्ने कार्य कानूनद्वारा दण्डनीय रहेको छ ।'

मन्त्रालयले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेको र संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।