
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति भएको बताएका छन् ।
आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको उल्लेख गरे । विसं २००७ को ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको गौरवमय दिनका रुपमा उनले समस्त नेपालीमा शुभकामना व्यक्त गरे ।
“कात्तिक २६, २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइनस आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी मार्ग प्रशस्त गरेको थियो,” सभापति थापाले भनेका छन्, “मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो । प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको बलियो आधार पनि यही दिनले निर्माण ग¥यो ।”
उनले लोकतन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहीदप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गरेका छन् ।










Facebook Comments