
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को हालैको निर्णयले बुक बिल्डिङ प्रक्रियामाथि नै प्रश्न उठाएको छ। नेप्से अध्यक्ष हेमन्त बस्याल को पहलमा करिब १४ वर्षअघिको अभ्यासलाई आधार बनाउँदै बुक बिल्डिङमार्फत तय गरिएको मूल्यलाई सूचीकरणका क्रममा पूर्ण मान्यता नदिएको भन्दै बजारमा बहस चुलिएको हो।
के हो बुक बिल्डिङ ?
बुक बिल्डिङ भनेको कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि योग्य संस्थागत लगानीकर्ताबाट विद्युतीय बोलकबोल (बिडिङ) प्रणालीमार्फत मूल्य निर्धारण गर्ने विधि हो। बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नेप्सेले स्वचालित प्रणाली सञ्चालन गर्छ र योग्य संस्थागत लगानीकर्तालाई युजर आईडी तथा पासवर्ड उपलब्ध गराउँछ। प्राप्त बोलकबोलका आधारमा अन्तिम मूल्य निर्धारण गरिन्छ।
हालसम्म यस विधिबाट आईपीओ ल्याउने कम्पनी दुई मात्रै छन्— सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स।
रिलायन्स प्रकरणले बढायो विवाद
रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सर्वसाधारणका लागि १० प्रतिशत छुट दिएर ८२० रुपैयाँमा आईपीओ जारी गरिएको थियो।
तर सूचीकरणका क्रममा नेप्सेले अंकित मूल्यको आधारमा ३ सय रुपैयाँ आसपास ओपनिङ रेन्ज तोकेको भन्दै आलोचना भएको छ। लगानीकर्ताहरूका अनुसार यसले बुक बिल्डिङमार्फत तय गरिएको मूल्यको विश्वसनीयतामै धक्का पुर्याएको छ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०६८ को व्यवस्था अनुसार पहिलो कारोबारको मूल्य सीमा नेप्सेले समय–समयमा तोक्न सक्ने प्रावधान छ। सोही आधारमा फेस भ्यालु वा नेटवर्थको तीन गुणासम्मको सीमा तोकिएको अभ्यास देखिन्छ। तर यस पटक पुरानो निर्णय टेकेर गरिएको सूचीकरणले करिब २१ हजार लगानीकर्ताको सम्पत्तिमा प्रत्यक्ष असर परेको दाबी गरिएको छ।
बोर्डले माग्यो स्पष्टीकरण
नेप्सेको निर्णयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समेत स्पष्टीकरण मागेको छ। बोर्डका एक उच्च अधिकारीका अनुसार “चलिआएको अभ्यासभन्दा फरक ढंगले ओपनिङ रेन्ज तोकिएको” विषयमा कारण माग गरिएको हो।
उनीहरूका अनुसार बुक बिल्डिङमार्फत मूल्य निर्धारण गरिसकेपछि सूचीकरणमा फरक अभ्यास अपनाउनु प्रक्रियागत असंगत देखिन्छ।
आगामी आईपीओमा असर ?
हाल करिब एक दर्जन कम्पनीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने तयारीमा नेप्सेसँग आवेदन दिएका छन्। बजार विश्लेषकहरूका अनुसार रिलायन्स प्रकरणले ती कम्पनीलाई निरुत्साहित गर्न सक्छ।
एक लगानीकर्ताले भने, 'यदि बजार सञ्चालकले नै बुक बिल्डिङमार्फत तय मूल्यलाई सम्मान गर्दैन भने भविष्यमा यो विधिप्रति कसरी विश्वास गर्ने ?'
नेतृत्वमाथि प्रश्न
नेप्से अध्यक्ष बस्यालको सक्रिय भूमिकाले विवाद थप चर्किएको बताइन्छ। सञ्चालक समितिमा विषय प्रवेश गर्दा समेत प्रक्रिया लम्बिएको र एक महिनाभित्र सूचीकरण हुनुपर्ने समयसीमा नाघेको आरोप लागिरहेको छ।
रिलायन्स स्पिनिङ मिल्सले २९ पुसमा सूचीकरणका लागि निवेदन दिएको थियो। कम्पनीको सेयर सोमबारदेखि प्रतिकित्ता ३ सय रुपैयाँमा कारोबार सुरु भएको छ।
बुक बिल्डिङ विधि पूँजी बजारलाई परिपक्व र पारदर्शी बनाउने उद्देश्यले ल्याइएको मानिन्छ। तर पछिल्लो निर्णयले यसको प्रभावकारिता र नियामकीय स्थिरतामाथि नै प्रश्न उठाएको छ। अब नेप्से र धितोपत्र बोर्डबीचको संवादले यस विवादलाई कसरी टुंग्याउँछ भन्नेमा लगानीकर्ताको चासो केन्द्रित भएको छ।










Facebook Comments