काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्नो पार्टीले ‘विकास कूटनीति’लाई विदेश नीतिको मूल आधार बनाएर अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
मंगलबार सुदूरपश्चिमको चुनावी कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विदेश नीतिलाई दलगत भन्दा राष्ट्रिय विषयका रूपमा लिनुपर्ने बताए।
‘राष्ट्रको एउटै विदेश नीति हुन्छ’
लामिछानेले दलपिच्छे फरक–फरक विदेश नीति हुन नसक्ने धारणा राख्दै भने, 'राष्ट्रको एउटा विदेश नीति हुन्छ, पार्टीहरूले त्यसलाई अझ परिपक्व बनाउने दृष्टिकोण प्रस्तुत गर्छन्।'
उनका अनुसार नेपालले आफ्नो भूराजनीतिक अवस्थाअनुसार परराष्ट्र नीति निर्माण गर्दै आएको छ र त्यसै आधारमा सम्बन्ध विस्तार गरिरहेको छ। रास्वपा पनि हालसम्म अवलम्बन गरिएको असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उनले बताए।
‘भूराजनीतिमा सीमित होइन, विकासमा केन्द्रित’
रास्वपाले सोचिरहेको विदेश नीति केवल भूराजनीतिक सन्तुलनमा सीमित नहुने लामिछानेको भनाइ छ। उनले ‘डेभलपमेन्ट डिप्लोमेसी’ अर्थात् विकास कूटनीतिलाई प्राथमिकता दिने उल्लेख गरे।
'विकासलाई केन्द्रमा राखेर अघि बढ्ने कूटनीतिले मात्रै देशलाई समृद्धितर्फ लैजान सक्छ,' उनले भने, 'सबै देशसँग सम्मानजनक र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै विकास साझेदारी विस्तार गर्नु हाम्रो लक्ष्य हो।'
आर्थिक हितलाई प्राथमिकता
लामिछानेले विदेशी लगानी, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई विदेश नीतिसँग जोडेर अगाडि बढाइने बताए। उनका अनुसार, कूटनीतिक सम्बन्ध केवल औपचारिक भेटघाटमा सीमित नभई प्रत्यक्ष आर्थिक लाभ र विकास परिणाममा रूपान्तरण हुनुपर्छ।
निर्वाचन नजिकिँदै गर्दा रास्वपाले विदेश नीतिमा ‘विकास’लाई मुख्य एजेन्डा बनाउने संकेत दिएको छ। अब चुनावी घोषणापत्रमा यो अवधारणा कति स्पष्ट रूपमा प्रस्तुत हुन्छ भन्ने चासो बढेको छ।










Facebook Comments