
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत वानखेडे रंगशालामा नेपाल र स्कटल्यान्डबीचको खेल रोमाञ्चक बन्दै गएको छ। समूह ‘सी’ बाट दुवै टोली अघिल्लो चरणको होडबाट बाहिरिइसके पनि आजको भिडन्त प्रतिष्ठा जोगाउने अन्तिम अवसरका रूपमा हेरिएको छ।
नेपालका कप्तान रोहितकुमार पौडेल ले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको स्कटल्यान्डले बलियो सुरुआत गर्यो। पावरप्ले (६ ओभर) मा विनाविकेट ५२ रन जोडेको स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी बनायो।
यो साझेदारी रोहित आफैंले तोडे। दशौं ओभरको अन्तिम बलमा उनले ओपनर जर्ज मुनसेलाई २७ रनमा आउट गराए। रिभर्स स्वीप खेल्ने क्रममा मुनसेलाई लङ–अनमा सन्दीप जोराले उत्कृष्ट क्याच समाते। मुनसेले २९ बलमा चार चौका प्रहार गरेका थिए।
अर्का ओपनर माइकल जोन्स भने अर्धशतक पूरा गर्दै क्रिजमा जमिरहेका छन्, जसले स्कटल्यान्डलाई ठूलो स्कोरतर्फ डोर्याउने संकेत देखिएको छ।
यस खेलका लागि नेपालले एक परिवर्तन गरेको छ। करण केसीको स्थानमा सन्दीप जोरालाई प्लेइङ–११ मा समावेश गरिएको छ। १५ सदस्यीय टोलीमध्ये बसिर अहमदले यसपटक पनि मौका पाउन सकेनन्।
समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड अघिल्लो चरणमा पुगिसकेका छन्। त्यसैले यो खेलले तालिकामा खासै असर पार्दैन। तर दुवै टोलीका लागि यो खेल साख जोगाउने अवसर बनेको छ।
स्कटल्यान्ड अन्तिम समयमा प्रतियोगितामा समावेश भएको टोली हो, तर उसले बलियो प्रदर्शन गर्दै आफू योग्य भएको प्रमाणित गरिसकेको छ। उता नेपालका लागि यो विश्वकप आशा र निराशाको मिश्रण रह्यो। इंग्ल्यान्डविरुद्धको प्रभावशाली प्रदर्शनपछि समर्थकको आशा चुलिएको थियो, तर इटाली र वेस्ट इन्डिजसँगको हारले टोलीको आत्मविश्वासमा धक्का पुर्यायो।
आज वानखेडेमा केवल खेल मात्र भइरहेको छैन—यो दुवै टोलीको आत्मसम्मानको लडाइँ हो। एकातिर स्कटल्यान्डको अनुशासित रणनीति छ भने अर्कोतिर नेपाली टोलीको जोस र समर्थकको अथाह समर्थन।
अब हेर्न बाँकी छ—यो प्रतिष्ठा युद्धमा अन्तिम हाँसो कसले हाँस्नेछ।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल
आसिफ शेख (विकेटकिपर)
रोहित पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
सन्दीप जोरा
लोकेश बम
गुलशन झा
सोमपाल कामी
नन्दन यादव
सन्दीप लामिछाने
स्कटल्यान्डको प्लेइङ–११
जर्ज मुनसे
माइकल जोन्स
ब्रान्डन म्याकमुलेन
रिची बेरिङ्टन (कप्तान)
टम ब्रुस
म्याथ्यू क्रस (विकेटकिपर)
मार्क वाट
माइकल लिस्क
ओलिभर डेभिडसन
ब्राड ह्विल
ब्राड करी




Facebook Comments