काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेकी छन्। 

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार विजयी झाँक्रीले दाङस्थित निर्वाचन कार्यालयमा २ लाख ३६ हजार रुपैयाँबराबरको खर्च विवरण पेश गरेकी हुन् । 

ad

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार बुझाइएको उक्त विवरणमा सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको देखिएको छ। 

झाँक्रीका अनुसार यस शीर्षकमा मात्र १ लाख २० हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, निर्वाचनको समयमा सवारी साधनका लागि ६० हजार र इन्धन खर्चबापत १५ हजार रुपैयाँ उपयोग भएको विवरणमा उल्लेख छ।

प्रचारप्रसारका अन्य माध्यमहरू जस्तै छापा एवं विद्युतीय सञ्चार माध्यमका लागि १५ हजार रुपैयाँ खर्च भएको छ भने प्रचारप्रसार सामग्रीका लागि ५ हजार रुपैयाँ विनियोजन गरिएको थियो। 

यसैगरी कार्यालय सञ्चालनका लागि १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, प्रतिनिधि परिचालनमा ३ हजार र विविध शीर्षकमा ५ हजार रुपैयाँ खर्च भएको झाँक्रीले उल्लेख गरेकी छन्।