काठमाडौं । झापाको क्षेत्र नं. ४ मा पर्ने झिलझिलेमा आयोजित श्रम संस्कृति पार्टीको निर्वाचन आमसभालाई सम्बोधन गर्दै धरानका पूर्व मेयर तथा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ बालेन शाहमाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले बालेनलाई खतरनाक भन्दै उनको लोकप्रियता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।

साम्पाङले बालेनलाई युवाहरूलाई उचालेर भाग्ने व्यक्तिको रूपमा चित्रण गरे । ‘बालेन खतरनाक मान्छे हो, म राम्रोसँग चिन्छु । त्यही मान्छे होइन जेन्जीलाई आन्दोलनमा जान उक्साउने ? अनि आउनुस् न त देश सम्हालौँ भन्दाखेरि फेरि ६ महिना लुकेर बस्ने ? अहिले फेरि प्रधानमन्त्री हुने रे,’ साम्पाङले भने । 

ad

उनले बालेनले मिडियालाई आफ्नो मुठ्ठीमा पारेको आरोप पनि लगाए । ‘फेसबुकबाट फेरि मिडिया सबै किन्यो कि क्या हो ? हाम्रो यति ठुलो कार्यक्रम हुन्छ, हाम्रो बारेमा त आउँदैन, उनीहरूको चाहिँ आइरहन्छ । विचार के हो त उसको ? ।’

साम्पाङले राष्ट्रिय मुद्दामा बालेन, रवि लामिछाने र कुलमान घिसिङ मौन बसेको भन्दै खुल्ला चुनौती दिए । ‘बालेनले नो एमसीसी भनेर एउटा कार्यक्रम गरेर देखाओस्, अनि मात्र सोच्नुस् भोट हाल्ने कि नहाल्ने । रवि लामिछानेले नो एमसीसी भनेर देखाओस् । कुलमान घिसिङले नो एमसीसी भनेर देखाओस् । पुरानाले त के भन्थे र, उनीहरूले नै पास गरेको हो, उनीहरू भन्दैनन् !,’ उनले भने । 

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाहबीचको टकरावलाई लक्षित गर्दै प्रतिशोधको राजनीति भइरहेको दाबी गरे । ‘देशमा प्रगति चाहिन्छ, प्रतिशोध होइन । अहिले केपी ओलीलाई सोध्यो भने बालेनलाई ठिक पार्ने भन्छ, बालेनलाई सोध्यो भने केपी ओलीलाई ठिक पार्ने भन्छ । अनि भोका नाङ्गा नेपालीले चाहिँ के गर्ने ? के खाएर बाँच्ने ?,’ साम्पाङले भने । 

देशको स्वाधिनताको पक्षमा कोही नबोलेको भन्दै उनले आक्रोश पोखे । ‘हिजो मात्र विदेशी सेना परेड खेल्दै गरेको, यसको बारेमा के बोले त यिनीहरू ? एमसीसीको बारेमा त कोही बोल्न सक्दैन । एउटा नेतालाई सोध्नुस् त, टाप दिइहाल्छन् । यस्ता हुतिहाराहरूलाई तपाईँहरू देश जिम्मा दिने यसपालि ?,’ उनले भने, ‘विदेशी डिजाइनबाट मुक्त गर्नुपर्छ यो देशलाई । त्यसो हो भने यही देशको मौलिक विचार चाहिन्छ, श्रम संस्कृति चाहिन्छ । हावाको भरमा हे... हे... गरेर देश चल्दैन । भोलि कानुन पनि हे...गर्दै बनाउने हो ? शिक्षा र आर्थिक क्रान्ति पनि हा हा हु हु गरेर चल्छ ? ।’ 

साम्पाङ सहभागी भएको सो कार्यक्रममा हजारौं सर्वसाधरण सहभागी थिए ।