काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै पाँच वर्षभित्र नेपाललाई डिजिटल हब बनाउने लक्ष्यसहित चार प्रमुख योजना अघि सारेका छन् ।

आज  भिडिओ सन्देश जारी गर्दै सभापति थापाले आफूले यसअघि कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको तीन÷चार लाख कमाउन सकिने कुरालाई उडाइए पनि त्यो हावादारी नभएको पुनः जिकीर गरेका छन् ।

ad

उनले भने– केही समयअघि कीर्तिपुरको एउटा राजनीतिक सभामा मैले त्यही डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ भनेको थिएँ। त्यो कुरा हाँसोको विषय पनि बन्यो, धेरै ट्रोल पनि भए। तर मैले हावादारी कुरा गरेको थिइनँ। त्यो कुनै उडन्ते सपना पनि थिएन। त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वास थियो, किनकि मसँग केही स्पष्ट योजनाहरू थिए । 
अघिल्ला सरकारले अध्यादेशमार्फत गरिएका सुधारहरूले केही सकारात्मक परिणाम देखाए पनि पर्याप्त नभएको उनको भनाई थियो । 

उनले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई आइटी दशकको रूपमा परिकल्पना गरिएको १० वर्षमा ३० खर्ब बराबरको आइटी निर्यात गर्ने, ५ लाख प्रत्यक्ष रोजगारी र ठूलो स्ख्यामा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भनेर अघिल्लो सरकारको परिकल्पना गरिएको समेत बताए।

के गर्ने भन्ने विषयमा स्पष्टता थियो। अब गर्ने कुरालाई कार्यान्वयन गर्नु मात्र बाँकी थियो। विशेष गरी कानुनी पक्ष सबभन्दा महत्वपूर्ण थियो, उनले भने–ती सुधारहरूलाई गम्भीरतापूर्वक र प्रतिबद्ध भएर लागु गर्न सके पाँच वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ । 


आईटी क्षेत्रमा विदेशी लगानीको २ करोड रुपैयाँको सीमा ९क्याप० थियो। त्यो हटाएर स्वचालित प्रणालीमार्फत लगानी स्वीकृत हुने व्यवस्था गरियो। एक वर्षभित्र १६ कम्पनीमा आएको लगानी बढेर करिब ३८४ कम्पनीसम्म पुगेको छ। यसले देखाउँछ—सानो सुधारले पनि ठूलो परिणाम दिन सक्छ, उनले भने।

थापाले आगामी पाँच वर्षभित्र विशेषगरी चार कुराहरुको सुधार गर्ने सके यसले सकारात्मक परिणाम दिने बताए।

 उनले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक–निजी साझेदारीको मोडल अघि सारेका छन् । अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।