काठमाडौं । राष्ट्रिय सभाको १९औँ अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को २६ माघको सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रिय सभाको १९औँ अधिवेशनको पहिलो बैठक गत ४ माघमा बसेको थियो । जम्मा २७ दिन चालु रहेको यो अधिवेशनमा नौवटा बैठक बसी १७ घण्टा २५ मिनेट समय सभाका काममा व्यतित गरेको छ ।

ad

यो अवधिवेशनमा ‘अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला स्थापना, सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधिसभामा पठाइएको छ । यसबीचमा सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको छ ।

त्यस्तै, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सभा ऐन दोस्रो संशोधन अध्यादेश सभामा पेस भई सर्वसम्मत स्वीकृत भइसकेको छ ।

सरकारलाई संसदप्रति जवाफदेही बनाउन कानुन, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको संसद सचिवालयले जनाएको छ ।

यसबीचमा गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने र राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले लिखित राजीनामा दिएका थिए । 

छोटो समय चले पनि ऐतिहासिक रूपमा काम गर्न सकेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए । राजनीतिक अन्योलताका बीच महत्वपूर्ण काम गर्न सकिएको उनको भनाइ छ ।