काठमाडौं । बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार अब तीन क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ।

अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बीएनपी)ले दुई तिहाई सिट जितेको छ। उसले अहिलेसम्म २१३ सिट जितेको डेली स्टारले जनाएको छ।

ad

प्रतिनिधि सभाको ३०० सिटमध्ये २९९ सिटमा चुनाव भएको थियो। एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको थियो। ‍

दुई तिहाईका लागि कम्तीमा २०० सिट जित्न आवश्यक रहनेमा बिएनपीले २१३ सिट ल्याउने निश्चित भएको हो।

पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिक रहमान नेतृत्वको बिएनपीलाई बंगलादेशका जनताले भव्य अनुमोदन गरेको भनेर त्यहाँको सञ्चारमाध्यमहरुले लेखेका छन्।

निर्वाचन आयोगले शुक्रबार साँझसम्म औपचारिक नतिजा घोषणा गर्ने जनाएको छ। त्यसपछि बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुनेछन्।

यसपालि शेख हसिनाको पार्टी अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाइएको थियो। हसिना २०२४ को जुलाइमा विद्यार्थीको आन्दोलन चर्किँदा प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासन गएकी थिइन्।

यसपालि अवामी लिग प्रतिस्पर्धामा नभएका कारण पनि बिएनपीले दुई तिहाई सिट जित्न सकेको भनेर विश्लेषकहरूले बताएका छन्।

अवामी लिगको अनुपस्थितिमा जमात–ए–मुस्लिम पार्टीले बिएनपीसँग प्रतिस्पर्धा गरेको थियो। जमात–ए–मुस्लिमले विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी (एनसिपी) लगायत ११ दलसँग गठबन्धन गरेको थियो।

त्यसका बाबजुद उक्त गठबन्धनले ७६ सिट मात्रै ल्याएको बताइएको छ। त्यसमध्ये पनि एनसिपीका ६ जना उम्मेदवार मात्रै विजयी भएको छ।

बिहीबार भएको मतदानमा नेसनल सिटिजन पार्टी (एनसीपी)ले अपेक्षाकृत नतिजा निकाल्न सकेन । 
२०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि गठन भएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी)ले जारी संसदीय निर्वाचनमा केवल ६ सिट जितेको निर्वाचन अधिकारीहरूलाई उद्धृत गर्दै बंगलादेशी मिडियाले रिपोर्ट गरेका छन् ।

अनलाइन पत्रिका द डेली स्टार ले मतगणना जारी रहेका ६ निर्वाचन क्षेत्रमा एनसीपीले निश्चित रूपमा विजय हासिल गर्ने भएको रिपोर्ट गरेको छ । यो नतिजा विद्यार्थीहरूले स्थापना गरेको पार्टीका लागि ठूलो झट्का मानिएको छ ।

एनसीपी नेता नाहिद इस्लाम ढाका–११ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । पार्टीका अन्य केही उमेदवारहरूले अन्यत्र पनि जित निकालेको पुष्टि गरेको रिपोर्ट गरिएको छ ।

मतदान सुरु हुनुअघि नाहिद इस्लामले एनसीपीसहितको गठबन्धनले अर्को सरकार गठन गर्ने दाबी गरेका थिए । तर, प्रारम्भिक परिणामहरूले पार्टी सरकार गठनबाट धेरै टाढा रहने संकेत गरेका छन् ।