
चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। कारबाही हुनेमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्।
बैंकले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको पाइएपछि एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दफा १००(२)(ग)) अनुसार जनही २ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी प्रावधान पूरा नगरेको पाइएको छ। साथै कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जा पुरानै भ्यालु डेट राखेर पुनः सिर्जना गर्न सकिने अवस्था रहेको देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा २% भन्दा बढी ब्याजदर फरक कायम गरेको र त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।
राष्ट्र बैंकले यी कारबाहीले बैंकहरूको वित्तीय अनुशासन कडा राख्न र नियामक प्रावधान पालन गर्न आवश्यक भएको जनाएको छ।









Facebook Comments