
काठमाडौँ । राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन मात्र बाँकी रहेको उल्लेख गर्नुहुँदै देशभर भयरहित, त्रासरहित, धाँधलीरहित रुपमा संयमतापूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने बताईन्। यसका लागि वातावरण बनाउन पनि उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गरिन् । आजको बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने धारणा राखिन् ।
सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्का करार सेवाका केही कर्मचारीलाई निष्काशन गरिएको विषय सदनमा उठाए । सांसद सुमित्रा विसीले देशका विभिन्न भागमा हत्या हिंसा बढ्दै गएको समाचार आइरहेको बताउनुहुँदै यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारबाही र पीडितको न्यायका लागि पहल गरिनुपर्ने बताईन् ।










Facebook Comments