काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन) बिहीबार सर्वोच्च अदालत पुगेका छन्। चुनावी अभियानका बीच उनी आफूविरुद्ध दायर अदालतको अवहेलना मुद्दाको तारिख बुझ्न अदालत पुगेका हुन्।

मधेस केन्द्रित चुनावी कार्यक्रम सकेर बुधबार साँझ मात्रै काठमाडौं फर्किएका बालेन बिहीबार दिउँसो सर्वोच्च अदालतको एनेक्स भवन हुँदै मुद्दा शाखामा पुगेका थिए। अदालत स्रोतका अनुसार उनीविरुद्ध दर्ता भएको अवहेलना मुद्दामा तोकिएको पेसीबारे जानकारी लिन उनी स्वयं उपस्थित भएका हुन्।

ad

उक्त मुद्दा सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिसँग सम्बन्धित छ। उच्च अदालत पाटनले सिनेमा हलमा हिन्दी फिल्म प्रदर्शन रोक्न नपाइने अन्तरिम आदेश दिएपछि बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेशप्रति असन्तुष्टि जनाएका थिए। सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन्।

निवेदनमा बालेनको अभिव्यक्तिले न्यायालयप्रति अवमाननाजन्य टिप्पणी गरेको दाबी गर्दै न्याय प्रशासन ऐन, २०७३ र सर्वोच्च अदालत नियमावली, २०७४ अनुसार कारबाहीको माग गरिएको छ।

यसअघि बालेनले तारिखमा प्रतिनिधि (वारेश) मार्फत उपस्थित हुन अनुमति मागेका थिए। तर सर्वोच्च अदालतको संयुक्त इजलासले मुद्दाको प्रकृति गम्भीर रहेको उल्लेख गर्दै उनलाई स्वयं उपस्थित हुन निर्देशन दिएको थियो।

अदालतले उक्त मुद्दाको पेसी आगामी चैत १२ गतेका लागि तोकेको छ। सो दिन दुवै पक्षको सुनुवाइ हुने बताइएको छ।

चुनावी मैदानमा सक्रिय रहेका बालेनका लागि यो कानुनी प्रक्रिया चुनावी माहोलकै बीच अगाडि बढिरहेको छ।