
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ।
महाशिवरात्रि पर्वलाई सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ।
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए।
त्यस्तै, पाशुपत क्षेत्रमा मास, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण–बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन समेत कोषले सचेत गराएको छ।
महाशिवरात्रि मनाउन पशुपतिनाथ मन्दिरमा विभिन्न देशबाट साधुसन्तहरूको समेत आगमन भइसकेको कोषले जनाएको छ। यस वर्षको महाशिवरात्रि फागुन ३ गते आइतबार मनाइँदै छ।










Facebook Comments