काठमाडौं । भारतले नेपाललाई गरेको निर्वाचन सहयोग सम्बन्धीको तेस्रो खेपअन्तर्गत नेपाली सेनालाई सवारीसाधन प्रदान गरिएको छ ।
बिहीबार गृह मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले उपलब्ध गराएका ती सवारीसाधन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानसेनापति अशोक सिग्देललाई हस्तान्तरण गरे ।
सहयोगको तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री रहेका भारतीय दूतावासले जनाएको छ । जुन आगामी निर्वाचनको तयारीका लागि नेपालले खोजेको सहयोगअनुरूप रहेको दूतावासको भनाइ छ ।
कार्यक्रममा गृहमन्त्री अर्यालले नेपाललाई समयमै उपलब्ध गराइएको र निकै नै महत्त्वपूर्ण मानिएको यस सहयोगका लागि भारतलाई धन्यवाद दिए ।
उनले दुई देशबीचको पारस्परिक हित र बृहत् सहकार्यको प्रशंसा गर्दै यो सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धताद्वारा निर्देशित रहेको उल्लेख गरे ।
भारत सरकारबाट प्राप्त यस्ता निर्वाचनसम्बन्धी सहयोगको पहिलो दुई खेपमा ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री प्राप्त भइसकेका छन् । ती सामग्री यही माघ ६ र माघ १५ गते नेपाललाई हस्तान्तरण गरिएको थियो ।
थप सहयोग आगामी दिनमा विभिन्न ब्याचमा उपलब्ध गराइने दूतावासले जनाएको छ ।
भारतीय पक्षबाट भइरहेको यो सहकार्य र समर्थन दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिविम्ब रहेको दूतावासको भनाइ छ ।
‘यसले भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रतालाई समेत प्रतीकका रूपमा झल्काउँछ’, दूतावासले भनेको छ ।









Facebook Comments