
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिने क्रममा सोलुखुम्बु र भोजपुर जिल्लाको भ्रमण गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा र सरकारी निकायका अधिकारीहरूसँग छलफल गरिन्।
सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो।
सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।
शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलता पनि नदेखिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपात भएका घटना कम रहेको पनि उनले बताए।
केही गरी हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन सक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् ।








Facebook Comments