
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाणगंगा नगरपालिका वडा नम्वर ०८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । गत माघ २६ गते भट्टराईले आफनो फेसबुकवालबाट ती कागजात सार्वजनिक गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।
उनलाई कपिलवस्तु नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिइएको सिंहको भनाइ छ । भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको दाबी प्रहरीको छ ।
भट्टराईमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । यसअघि उनले आफ्नै पार्टीको नेतालाई गाली गलौज गरेको अडियो समेत बाहिरिएको थियो ।










Facebook Comments