काठमाडौं । दार्चुलामा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । यसअघि तीनजना समातेको प्रहरीले दुईजना आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा आशिष पाल र राजेन्द्रसिह डडाल रहेका छन् । पूजा बियर बारका सञ्चालक पाल हत्या घटनामा मुख्य अभियुक्त रहेको र डडालले शव व्यवस्थापनमा सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ ।

ad

पाललाई दुहु गाउँपालिकामा रहेको जंगल क्षेत्र र डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हवल्दार घर्तीको हत्या आरोपमा मंगलबार नै २० वर्षीया दीपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो । घटनामा थप दुईजना संलग्न रहेको प्रहरीले जनाएको छ । 

शवको जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरेर अन्तिम संस्कार गरिएको छ । प्रहरी हवल्दार घर्तीको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।