काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बनेमा प्रत्येक महिना प्रधानमन्त्रीले आफ्नो रिर्पोट बुझाउनुपर्ने व्यवस्थाको थालनी गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उठेका उनले स्थानीय मतदातासँग कुराकानी गर्दै अब पुरानो प्रवृत्तिले मुलुक नचल्ने बताए । 

चुनाव जितेर काठमाडौं जाने जनप्रतिनिधि पाँच वर्षपछि मात्र गाउँ फर्किएको उदाहरण सुनाउँदै भने, ‘अब फागुन २१ मा चुनाव हुन्छ, चैत पहिलो हप्ता नयाँ सरकार बन्छ, अनि बन्ने प्रधानमन्त्रीले पाँच वर्षको लागि होइन, एक महिनामा के–के काम गर्ने हो, त्यो लिस्ट देखाउनुपर्छ, अनि वैशाख १ गते जनतालाई सम्बोधन गर्दै रिर्पोट देखाउनुपर्छ, त्यसैगरी जेठ १ गते अर्को महिनाको रिर्पोट लिएर जनताको नाममा सम्बोधन गर्नुपर्छ, प्रत्येक महिना प्रधानमन्त्रीले आफ्नो मासिक कामको रिर्पोट बुझाउनुपर्छ ।’

ad

सभापति थापाले एकजना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँगको छलफलमा अहिलेको चुनावमा एजेन्डा छाडेर प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको बताए । 

उनले भने, ‘म सहमतिको राजनीतिमा विश्वास गर्छु । त्यसैले म एकजनाले चमत्कार गर्न सक्छ भन्ने कुरा मान्दिनँ । अहिले यसपालिको चुनावचाहिँ दुर्भाग्य कस्तो भइदियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन । को प्रधानमन्त्री बन्ने ? को कस्तो देखिने ? कसले कस्तो लाउने ? कसले कस्तो हिँड्ने ? भनेको जस्तो विषयवस्तुतिर गयो। जसले गर्दा हाम्रा छलफल, मुद्दाहरू सबै कुरा गौण बनेको छ ।’