
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशभरका कुनै पनि चुनावी आमसभालाई सम्बोधन नगर्ने निर्णय लिएपछि सुदूरपश्चिमको राजनीति तरंगित बनेको छ। विशेषगरी उनको गृहजिल्ला डडेल्धुरामा यस निर्णयले चुनावी समीकरणमा नयाँ बहस सुरु गरेको छ।
२०४८ सालदेखि २०७९ सम्म लगातार सातपटक डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटक प्रत्यक्ष उम्मेदवार छैनन्। उनको स्थानमा कांग्रेसबाट पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर प्रतिस्पर्धामा छन्। ३४ वर्षपछि देउवा स्वयं मैदानमा नउत्रिँदा पनि चुनावी आमसभामा उपस्थित भई पार्टीलाई साथ दिने धेरैको अपेक्षा थियो।
उम्मेदवार महरले डडेल्धुरा, धनगढी र काठमाडौंमा आयोजित कार्यक्रमहरूमा देउवा फागुनको पहिलो सातातिर सुदूरपश्चिमका चुनावी कार्यक्रममा सहभागी हुने संकेत दिएका थिए। तर, माघ २५ गते देउवाको सचिवालयले देशभरका कुनै पनि आमसभामा उनी सहभागी नहुने स्पष्ट पारेपछि उनको उपस्थिति नहुने पक्कापक्की भएको हो।
गत पुस अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि देउवा सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन्। जिल्लाका कतिपय नेताहरूले कांग्रेसलाई जिताउन देउवाको सम्बोधन आवश्यक रहेको बताउँदै आएका छन्। ३४ वर्षसम्म सत्ता र शक्तिको केन्द्रमा रहेका नेताले सामान्य अपिलसमेत नगर्दा यसले चुनावी परिणाममा असर पार्न सक्ने उनीहरूको आशंका छ।
जिल्लाबाट प्रत्यक्षतर्फ देउवाको एकल नाम सिफारिस गरिएको थियो। तर, विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले महरलाई टिकट दिएको थियो। यस निर्णयले ‘देउवाको टिकट खोसिएको’ भन्ने भ्रम सिर्जना हुन सक्ने भन्दै कतिपय नेताहरू देउवाको उपस्थितिलाई अझै आवश्यक ठानिरहेका छन्।
महर भने देउवाकै सल्लाह र सहमतिमा उम्मेदवारी दिएको दाबी गर्छन्। ‘सुरुमा देउवा दाइको एकल नाम सिफारिस भएको थियो। मेरो नाम कैलाली–४ मा सिफारिस थियो। अन्तिम अवस्थामा उहाँसँग समन्वय भयो। उहाँले नै चुनाव लड्नुस् भनेपछि मैले जिल्लाका सिनियर नेताहरूसँग छलफल गरेर उम्मेदवारी दर्ता गरेको हुँ,’ महरले बताए।
कांग्रेसले मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाइरहेका बेला अधिकांश मतदाताको जिज्ञासा भने ‘देउवा आउँछन् कि आउँदैनन् ?’ भन्नेमा केन्द्रित छ। जिल्लाका एक नेताका अनुसार देउवा सुदूरपश्चिमका केही आमसभामा सहभागी हुने तयारीमा थिए, तर स्वास्थ्य समस्याका कारण कार्यक्रम स्थगित गरिएको हो।
जिल्ला तथा प्रदेशस्तरका नेताहरू देउवालाई गृहजिल्लाको कार्यक्रममा सहभागी गराउन काठमाडौंस्थित निवासमा धाइरहेका छन्। यद्यपि, उनले अहिलेसम्म कसैसँग पनि उपस्थित हुने स्पष्ट वाचा गरेका छैनन्।
देउवाको मौनता र अनुपस्थितिले डडेल्धुराको चुनावी माहोल कता मोडिन्छ भन्ने चासो यतिबेला राजनीतिक वृत्तमा चुलिएको छ।










Facebook Comments