
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राप्त जिम्मेवारी पूरा गरी सुशासन कायम गर्नेतर्फ आयोगको ध्यान जानुपर्ने बताए ।
उनले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी राज्यका अधिकार प्राप्त निकायबाट कामकारबाही हुनुपर्ने धारणा व्यक्त गरे ।
“अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो”, उनले भने, “तर आज आत्मसन्तुष्ट हुने समय होइन, आयोगले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हँुदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने म अझै खाँचो देखिरहेको छु ।”
राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि भएको बताए । “अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो, यसले आर्थिक क्षति वा नैतिक विचलनभन्दा धेरै पर पुगेर राज्य र नागरिकबीचको भरोसाको सेतुमा चोट पु¥याउँछ”, उनले भने, “जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, तब राज्यले नागरिकमाथि गरेको विश्वास मात्र होइन, नागरिकले राज्यप्रति राखेको भरोसा पनि कमजोर बन्छ । यसले शासन प्रणालीप्रति निराशा जन्माउँछ, कानुनप्रतिको आस्था कमजोर बनाउँछ र लोकतन्त्रको आधारभूत मूल्यलाई क्षति पु¥याउँछ ।”
सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँदछ, तर बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने जे जसरी पनि सत्ता, शक्ति र धन प्राप्तिको मोहलाई नियन्त्रण गर्न सकिन्छ र भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने आफ्नो विश्वास रहेको उनको भनाइ थियो ।
“सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शीता एवं निर्भीकतालाई जीवन पद्धतिकै रुपमा अगाडि बढाएर काम गर्न सकियो भने भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रण गर्न सम्भव छ, यसका लागि नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास होस् भन्ने मेरो चाहना छ”, राष्ट्रपति पौडेलले भने ।









Facebook Comments