काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुन, नीतिगत व्यवस्था भएको बताएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान  आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेकामा भने चिन्ता व्यक्त गरिन् । ‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले पछिल्लो समय अझै सक्रिय र निर्भिक रूपमा सशक्त ढंगले आयोगले काम गरिरहेको पनि बताईन् । 

ad


‘मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो । समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा प्रत्याभूत हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

भ्रष्टाचार निवारणको माग राखेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएको र नियन्त्रणका लागि प्रमुख जिम्मेवारी सरकार र कार्यकारीको भएको उनले उल्लेख गरिन् ।