काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका सहिद श्रीयम चौलागाईंका बुवा गणेशले झापा–५ बाट उम्मेदवारी दिएका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको बारेमा बुझेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।
उक्त नरसंहार उक्साउने र मच्चाउने दुवै तत्वबारे जान्न कुनै कसर बाँकी राख्न नहुने बताउँदै उनले मंगलबार आक्रोश पोखे ।
‘मार्न पठाउने पनि यही ठाउँमा छन् । गोली हानेर मार्ने हत्यारा पनि यही ठाउँमा छन् । त्यो चिन्नुपर्ने हामी जनताले हो । कोही आउँदा अहिले देश नै यहीँ छ कि जस्तोगरी हिंडिरहेका छन् । तर त्यो पार्टीलाई नचिनेका हुन् किन भन्ने मूल्यांकन मेरो पनि छ,’ उनले भने, ‘जस्तो २३ गतेको घटनालाई स्टाटसमार्फत आह्वान गर्ने एउटा मान्छे बालेन शाह हुन्, अर्को घटना घटाउने पात्र केपी बा पनि हुन् । यी दुवै यहीँ छन् । ती दुवैलाई चिनाउन हामीले कुनै कसर बाँकी राख्न हुँदैन ।’
झापा–५ मा नेकपाका उम्मेदवार रन्जित तामाङलाई भेट गर्ने क्रममा उनले अहिले लहैलहै चलिरहेको भन्दै त्यसप्रति सजग हुन आग्रह गरे । ‘धेरै विषय छन् । समय आएपछि बोलौंला । झापा–५ का जनताले यति चाहीँ बुझ्नुपर्यो, हत्या गर्न उक्साउने पनि यहीँ छन्, हत्या गर्ने पनि यहीँ छन् । यी दुईवटालाई चिन्न चाहीँ एकदमै जरुरी छ,’ चौलागाईंले भने ।
उनले भोलि झापा–५ रणभूमि नबनोस् भन्दै त्यसतर्फ ध्यान दिन मतदातालाई उनले आग्रह गरे । सो क्रममा उम्मेदवार तामाङले आफू जेनजीका अधुरा सपना पूरा गर्न लागिरहने प्रतिबद्धता जनाए ।









Facebook Comments