
काठमाडौं । पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको गुनासो बढेपछि सरकार यसको समाधानतर्फ सक्रिय भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण अवस्था र वितरण प्रक्रियाको स्थलगत अनुगमन तथा विश्लेषण गर्दै आपूर्ति प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन तथा समन्वय गरिरहेको जनाएको छ ।
विभागका अनुसार निरीक्षण अधिकृत र अन्य नियमनकारी निकायको सहकार्यमा ग्यास उद्योग, ठूला आपूर्तिकर्ता र खुद्रा विक्रेतासम्मको आपूर्ति शृङ्खलाको अनुगमन भइरहेको छ । आपूर्ति सहज बनाउन नेपाल आयल निगमलाई ढुवानी र वितरण प्रक्रिया चुस्त र प्रभावकारी बनाउन आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।
उपलब्ध ग्यास समानुपातिक रूपमा वितरण हुने व्यवस्था मिलाउन र ढुवानीमा देखिएका अवरोध तत्काल हटाउनुपर्ने विषयमा विभागले जोड दिएको छ । साथै, ग्यास बोटलिङ उद्योगहरूलाई उपभोक्ताको मागअनुसार उत्पादन र वितरण बढाउन तथा पूर्ण क्षमतामा सञ्चालन गर्न अनुरोध गरिएको छ ।
कृत्रिम अभाव सिर्जना हुन नदिन विभागले डिलर, रिटेलर र सप्लायर्सलाई सचेत गराउँदै बिक्री व्यवस्थापन पारदर्शी र न्यायोचित बनाउन निर्देशन दिएको छ । उपभोक्ताको मागको यथार्थ अभिलेख राख्ने र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्ने व्यवस्था अपनाउन विभागले स्पष्ट पारेको छ ।
यसैबीच विभागले उपभोक्ता र व्यावसायिक प्रतिष्ठानलाई पनि संयमित व्यवहार अपनाउन अपिल गरेको छ । अभावको आशंकामा आवश्यकता भन्दा बढी ग्यास खरिद गरी घरमै सञ्चय नगर्न र न्यूनतम आवश्यकताअनुसार मात्र खरिद गरेर आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।
विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमार्फत उपभोक्ता हित संरक्षणलाई आफ्नो मूल दायित्वका रूपमा लिँदै अत्यावश्यक वस्तु एलपी ग्यासको आपूर्ति अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ सबै सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।









Facebook Comments