
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षासहित हासिल भएका २४ उपलब्धि सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले मंगलबार (माघ २७) सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार यस अवधिमा १६० किलोमिटर सडक कालोपत्रेदेखि कुल विद्युत् जडित क्षमता चार हजार ८६ मेगावाट पुगेकोसम्म उपलब्धि समेटिएको छ ।
जसअनुसार, सुशासनका लागि कार्यालयको पुनःसंरचना, आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, ०८२ कार्यान्वयन, ओएन्डएममार्फत अर्थ मन्त्रालयअन्तर्गतका ३८ वटा कार्यालय र ३२३ वटा दरबन्दी कटौती, विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर ५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, भदौ २३ र २४ को आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायका लागि कर छुट र सहुलियतसहितको एकीकृत व्यवसायिक पुनरुत्थान योजना, पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न बायोइथानोल मिश्रण गर्ने व्यवस्था, उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ६२० र थप अनुदान ७० रुपैयाँ निर्धारण, चार लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गरी २ लाख ४३ हजार मेट्रिकटन वितरण गर्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ ।
यसबाहेक १० जिल्लाका ९४ हजार ५७२ गरिब घरपरिवारको सूची मन्त्रिपरिषदबाट स्वीकृत, नेपालले सार्वभौम क्रेडिट रेटिङ सम्पन्न गरी ‘बीबी–’ नतिजा प्राप्त, समीक्षा अवधिमा पाँच लाख ९० हजार ७१८ जना नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान, कार्बन व्यापार नियमावली, २०८२ र वन नियमावली (तेस्रो संशोधन) कार्यान्वयन र ४८ वटा प्रदूषण नमूना विश्लेषण गरिएको उपलब्धिमा उल्लेख छ ।
स्थानीय तहका लागि “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (नमूना), २०८२” तर्जुमा, नेपालगन्ज विमानस्थलको टर्मिनल निर्माण ७० प्रतिशत र विराटनगरको ६० प्रतिशत कार्य सम्पन्न, १६० कि.मी. सडक कालोपत्रे र १० वटा सडक पुलको निर्माण, कुल विद्युत् जडित क्षमता ४,०८६ मेगावाट र ९७ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच, सुरक्षण मुद्रण केन्द्रमार्फत स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ सुरु जस्ता कार्यहरू पनि सम्पन्न भएका छन् ।
एआई सेन्टर स्थापना, ९३ वटा आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भई ६२ वटा सञ्चालनमा, दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ८९१ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको पनि प्रगति विवरणमा उल्लेख छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन गरी काठमाडौंमा दैनिक १७ करोड लिटर पानी वितरण, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको पहिचानका लागि ७७ वटै जिल्लामा बायोमेट्रिक भेरिफिकेसन प्रणाली लागु, १६ वटा झोलुङ्गे पुल र १३ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण तथा जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त ४३ वटा विद्यालय पुनर्निर्माण प्रक्रियामा रहेको पनि उपलब्धिमा उल्लेख छ ।










Facebook Comments