काठमाडौं । प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले आसन्न फागुन २१ को निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले प्राप्त गरेका जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएकी छन् ।

मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटनपछि सम्बोधन गर्दै उनले विगतमा जस्तो सुरक्षा संयन्त्रबीचको समन्वयमा त्रुटि नदोहोर्‍याउन समेत निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्।’

ad

‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिइन् । 

‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु, उनले भनिन्।