काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेले परिवर्तनको नाममा केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका उपसभापति शर्माले माओवादी त नाम नै परिवर्तन गरेर नयाँ भनिरहेको भन्दै व्यंग्य गरे।

उनले भने, ‘नेकपा एमालेले विधानमा परिवर्तन गर्‍यो। दुईपटक मात्रै सभापति हुन पाउने व्यवस्था गरेको रहेछ, अध्यक्ष दुईपटक मात्रै हुन पाउने व्यवस्था। उहाँहरूले परिवर्तन गर्नुभयो, किनभने श्रद्धेय बा लाई पुनः अध्यक्ष बनायो। माओवादी पार्टीले हामीले नाम परिवर्तन गर्‍यो।’

ad

उनले रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बाहिरबाट हायर गरेको बताए। उनले थपे, ‘रास्वपाका साथीहरू पनि मैदानमा हुनुहुन्छ, उहाँहरूलाई पनि शुभकामना छ। उहाँहरूले परिवर्तन के गर्नुभयो भन्दा अरूले चाहिँ आफ्नै दल भित्रैबाट जो पहिलेदेखि लागेका भिडेका थिए उनलाई प्रधानमन्त्री बनाउने तर्फ लागे, हामीले चाहिँ हायर गरेर बाहिरबाट प्रधानमन्त्रीको क्यान्डिडेट ल्याइराखेका छौँ।’

उनले कांग्रेसले विधि, नीति, पद्धति र सोच सबै परिवर्तन गरेको बताए। उनले भने, ‘आजको युगलाई नेतृत्व गर्न सक्ने गरी नेपाली कांग्रेस पार्टीले हिजो ८० वर्ष माथिको अभिभावकको नेतृत्वमा सभापतिको नेतृत्वमा आज थियौँ हामी। नेपाली कांग्रेस पार्टी एक महिनाअघिसम्म श्रद्धेय नेता शेरबहादुर देउवा सभापति हुनुहुन्थ्यो र ८० वर्ष माथिको उहाँको उमेर छ, उहाँको लामो अनुभव छ। उहाँको अभिभावकत्व अहिले पनि पार्टीलाई जरुरी छ।

बदलिएको कांग्रेस अब निर्वाचनको मैदानमा जाँदै गर्दा कहिल्यै पनि गठबन्धन नगरीकन आफ्ना उम्मेदवार आफ्ना विचारहरूलाई लिएर जाने बताए। उनले अब कांग्रेसले कतैपनि भागबन्डा नखोज्ने बताए।

उनले भने, ‘बदलिएको कांग्रेसले निर्णय गरेको छ, संकल्प गरेको छ अब कुनै विश्वविद्यालयमा, कहीँ विदेश पठाउने राजदूतमा, कुनै अस्पतालको डिरेक्टर र भिसी बनाउँदै गर्दा कहीँ पनि भागबन्डा गर्ने काम गर्दैन। र त्यो भागबन्डा गर्ने काम त्यहाँ मात्रै होइन, पार्टीभित्र पनि ६० र ४० भनेर विगतमा गरिने पद्धतिभन्दा भागबन्डाको संस्कृतिलाई अन्त्य गरेर गएको छ।’