काठमाडौं। सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। 

ad

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको थियो । उक्त आयोग मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार गठन भएको हो ।

बैठकले राष्ट्रिय आर्थिक गणना–२०८२ का लागि तथ्यांक संकलन गर्ने आदेश–२०८२ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । 

साथै मन्त्रिपरिषद्ले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।