
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमाले पछिल्लो सरकारमा सत्ता साझेदार थिए । दुवै दलको संयुक्त नेतृत्वमा सरकार सञ्चालन भइरहेकै बेला सुरु भएको जेनजी आन्दोलनले देशको राजनीतिको धार नै मोडिदियो । आन्दोलनको प्रभावस्वरूप केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो र देश निर्वाचनको तयारीतर्फ उन्मुख भयो ।
तर निर्वाचनको घोषणापछि नेपाली काँग्रेस र नेकपा एमाले दुवैले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन् । खुला रूपमा निर्वाचन मिति घोषणा र संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै दायर गरिएको रिटमा विशेष गरी काँग्रेसभित्रको शेरबहादुर देउवा समूह र एमाले पार्टी नै संसद् पुनःस्थापनाको पक्षमा देखिएका छन् ।
यद्यपि सर्वोच्च अदालतले फागुन २१ अघि संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न नसकिने संकेत दिँदै आएको छ । अर्कोतर्फ सरकारले भने निर्वाचन नै एकमात्र विकल्प भएको भन्दै तोकिएकै मितिमा चुनाव गराउने अडान दोहोर्याइरहेको छ ।
निर्वाचनलाई लक्षित गर्दै एमालेले अन्य दलसँग गठबन्धनको पहल गरिरहेको भए पनि अहिलेसम्म कुनै दल सकारात्मक देखिएको छैन । तत्कालीन सत्ता साझेदार काँग्रेससँग पनि एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव अघि सारेको चर्चा चल्दै आएको छ । तर पार्टी नेतृत्व गगन थापाको हातमा पुगेपछि काँग्रेस एमालेसँग गठबन्धन गर्न इच्छुक नरहेको बताइन्छ । यद्यपि ओलीले देउवासँग व्यक्तिगत तहमा भने पटक–पटक संवाद र प्रस्ताव राख्दै आएको राजनीतिक वृत्तको बुझाइ छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न राजनीतिक नेताहरूको निवासमा आगजनी भएको थियो । त्यसक्रममा केही नेताहरूको घरबाट नगद नोट जलेको दृश्य कैद भएका भिडियोहरू सार्वजनिक भए । तीमध्ये काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवाससँग सम्बन्धित भिडियोले व्यापक चर्चा पायो ।
उक्त भिडियो सार्वजनिक भएपछि देउवा सचिवालयले प्रविधिको दुरुपयोग गरी एआईमार्फत बनाइएको भन्दै खण्डन गरेको थियो । स्वयं देउवाले पनि आफूलाई बदनाम गर्न कृत्रिम प्रविधि प्रयोग गरिएको दाबी गरे ।
यही दाबीलाई थप बल दिँदै एमाले अध्यक्ष ओलीले समेत देउवाको निवासमा पैसा जलेको भनिएको भिडियो एआईबाट सिर्जित भएको बताएका छन् । झापामा आयोजित कार्यक्रममा मतदाताले राखेको प्रश्नको जवाफ दिँदै ओलीले 'देउवाको घरमा जलेको भनिएको पैसा एआईबाट बनाइएको भिडियो हो' भन्ने अभिव्यक्ति दिएका थिए ।
ओलीले मतदातामाझ देउवानिवासको घटना एआईद्वारा सिर्जित मात्र भएको दाबी गर्नु राजनीतिक रूपमा देउवालाई फकाउने रणनीति हुनसक्ने विश्लेषण हुन थालेको छ ।
सत्ता समीकरण र आगामी राजनीतिक सहकार्यलाई ध्यानमा राख्दै ओलीले दिएको यो अभिव्यक्ति उद्देश्यपूर्ण ढंगले आएको भन्ने बुझाइ राजनीतिक वृत्तमा फैलिएको छ ।










Facebook Comments