काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजारको स्थायित्व र विकासका लागि लगानीकर्ताको विश्वास नै सबैभन्दा निर्णायक तत्व भएको बताएका छन्।

आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको उल्लेख गरे। उनले वर्तमान अवस्थाको यथार्थ मूल्यांकन गर्दै समस्या पहिचान र व्यावहारिक समाधान खोज्न सबै पक्ष केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।

ad

अध्यक्ष श्रेष्ठले पुँजी बजारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले आफू यस कार्यक्रममा विशेष चासोका साथ सहभागी भएको बताए।

लगानीकर्ताको विश्वास कायम राख्न र थप सुदृढ बनाउन नियामक, बजार सहभागी र मिडियासहित सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। यस सन्दर्भमा मिडियालाई उनले पुँजी बजारको ‘महत्वपूर्ण कडी’ का रूपमा व्याख्या गरे।

'विशेष गरी साना लगानीकर्ताको विश्वास निर्माणमा मिडियाको भूमिका अत्यन्तै संवेदनशील हुन्छ,' अध्यक्ष श्रेष्ठले भने, 'जिम्मेवार, सन्तुलित र सकारात्मक सूचनाले बजारमा विश्वास बढाउन ठूलो सहयोग पुग्छ।'

उनले ‘इन्भेस्टर्स कन्फिडेन्स’ भन्ने विषय प्रायः सेकेन्डरी मार्केटका साना लगानीकर्तासँग मात्र जोडेर हेरिने प्रवृत्ति रहेको उल्लेख गर्दै ठूला तथा संस्थागत लगानीकर्ताका लागि पनि विश्वास उत्तिकै महत्वपूर्ण हुने स्पष्ट पारे। 

पछिल्लो समय ठूला लगानीकर्ताहरूको समेत आत्मविश्वास कमजोर देखिन थालेको उल्लेख गर्दै उनले कारण जे भए पनि अब समाधान खोज्ने चरणमा जान ढिला गर्न नहुने बताए।