विराटनगर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) मोरङको पहिलो ऐतिहासिक अधिवेशनले युवा इन्जिनियर एवं खेलकुद उद्यमी शुभाषिश लाला कोइरालालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

शनिबार विराटनगरमा आयोजित विशेष समारोहका बीच सिडेन कोशी प्रदेशका अध्यक्ष भरत न्यौपानेले कोइरालाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो।

ad

समितिको उपसभापतिमा श्याम नारायण यादव, सचिवमा मदन सिंह र कोषाध्यक्षमा प्रतिक्षा कोइराला चयन हुनुभएको छ भने सदस्यहरूमा मनमोहन पंजियार, अमनकुमार राई, रविप्रवेश सिंह, राजन चौधरी र आकाश साह रहनुभएको छ। दुई वर्षे कार्यकालका लागि चुनिएको यो नयाँ टोलीले मोरङ जिल्लामा रहेका लोकतन्त्रवादी इन्जिनियरहरूको हकहित र व्यावसायिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

भारतको बेंगलोरबाट कम्प्युटर साइन्समा इन्जिनियरिङ पूरा गर्नुभएका नवनिर्वाचित अध्यक्ष कोइराला प्राविधिक क्षेत्रका साथै नेपाली खेलकुद जगतमा समेत एक परिचित र सफल व्यक्तित्व हुनुहुन्छ।

नेपाल सुपर लिग (NSL) मा तहल्का पिटेको विराट सिटी फुटबल क्लबका मालिक कोइरालाले पछिल्लो समय जाम्बुरे नेक्सस फुटसलमार्फत खेल पूर्वाधारमा नयाँ आयाम थपिरहनुभएको छ।

नेतृत्वको जिम्मेवारी सम्हालेपछि कोइरालाले आफ्नो कार्यकालमा मोरङको समग्र भौतिक पूर्वाधार र विकास निर्माणका कार्यमा इन्जिनियरहरूको व्यावसायिक दक्षतालाई प्रयोग गर्दै ठोस योगदान पुर्‍याउने संकल्प व्यक्त गर्नुभएको छ। प्रविधि र व्यवस्थापन दुवै क्षेत्रको अनुभव बोकेका कोइरालाको नेतृत्वले जिल्लाको विकासमा नयाँ भिजन ल्याउने विश्वास गरिएको छ।